अवसरको नजिक रहेको चुनौतीपूर्ण सेतीपोखरी उपत्यका

नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीको मुहान सेतीपोखरी हो । यो पोखरी सोलुखुम्बुको सेतीपोखरी उपत्यकामा पर्दछ । यो पोखरीलाई माथिल्लो पाँचपोखरी पनि भनिन्छ । भौगोलिक हिसाबले सबै तिर्थालु भक्तजनहरुको पहँचमा यो पोखरी नभएको र यहाँकै पानी सोलुखुम्बु बुङको पाँचपोखरीमा आएको विश्वास गरी बर्षेनी नागपञ्चमी र जनै पुर्णिमाको दिन उक्त पाँचपोखरीमा थुप्रै तिर्थालु भक्तजनहरु वर माग्न जाने गर्दछन् ।

सोलुखुम्बु लुक्लाबाट फाक्दिङ, नाम्चे, टेङबोचे, छिकुङ हुदै ५८०० मिटर उचाईमा रहेको आम्फुलाप्चा भञ्ज्याङ पार गरेर दक्षिणतिर मोडिएपछि सेतीपोखरी उपत्यका पुगिन्छ । त्यस्तै नाम्चेबाट टेङबोचे पुगेर आमाडब्लाङ हिमालको फेदी हुदै ५८१७ मिटरको मिङबोला भञ्ज्याङ पार गरेपछि पनि यो उपत्यका प्रवेश गर्न सकिन्छ । संखुवासभाको टुम्लिङटारबाट सेदुवा, मकालु हिमालको आधारशिविर भएर ६१३५ मिटरको शेर्पेनीकोल भञ्ज्याङ पार गरेपछि पनि सेतीपोखरी उपत्यका पुग्न सकिन्छ । यसबाहेक लुक्लाबाट पूर्बतिर मोडिएर थोल, ताक्तावा, कोठे, नौलेख, खहरे हुदै ५४१५ मिटरको मेराला भञ्ज्याङ पार गरेर पनि यो उपत्यका पुग्न सकिन्छ । यो उपत्यकाभित्र बरुञ्जे, चाम्लाङ, हंगु चुली १, हुंगु चुली २, मेरा लगायतका हिमालहरु छन् । यी हिमालहरु चढ्न बर्षेनी हजारौ पर्यटकहरु सेतीपोखरी जाने गर्दछन् । पर्यटकीय समयमा यो उपत्यका एउटा विकशित सहरभन्दा कम्तिको झिलिमिली हुदैन । संयोगले एसियामा एकसाथ प्रचार प्रशार गरिएको अपर ग्रेट हिमालयन टे«ल पनि शेर्पेनीकोल पास गरेर यही सेतीपोखरी उपत्यका हुदै आम्फुलाप्चा पास गरेर नाम्चे भएर जान्छ । यसकारण सेतीपोखरी उपत्यका धार्मिक र पर्यटकीय हिसाबले महत्वपुर्ण ठाँउ मानिन्छ ।

 

यी ४ वटा विकल्पहरु आम्फुलाप्चा, मिङबोला, शेर्पेनीकोल र मेराला भञ्याङहरुहुदै सेतीपोखरी उपत्यका प्रवेश गरेकाहरुको लागि यस उपत्यकाबाट फर्कने विकल्पहरु पनि त्यही ४ वटा भञ्जाङहरु नै हुन् । तुलनात्मकरुपमा मेराला भञ्जाङ ५४१५ मिटर सबैभन्दा कम उचाई रहेको सजिलो बिकल्प हो भने सबैभन्दा बढी उचाईमा रहेको शेर्पेनीकोल भञ्ज्याङ ६१३५ मिटरको उचाईमा रहेको छ । यस उपत्यकामा प्रवेश गरीसकेका पर्यटकहरु बिरामी परेमा वा प्रतिकुल मौसम भई हिमपात भएमा फर्केर आउन नसक्ने अवस्थामा पर्दछन् र पर्दै पनि आएका छन् । यस्तो प्राकृतिक विपत्ती परेको बेला र आफुले पठाएका ट्रेकिङ समूहका सदस्यहरु बिरामी भएको बेला हेलीकप्टर पठाएर उद्वार गर्नु टे«किङ कम्पनीहरुको लागि पहिलो र अन्तिम विकल्प रहन्छ । तर यी पहिलो र अन्तिम बिकल्पको रुपमा रहेको हेलिकप्टर पठाउदा पनि कहिलेकाही हिमपात भइरहेको बेला हेलिकप्टर अवतरण हुन नसक्दा धेरै पर्यटनकर्मीहरुको मृत्यु हुने गर्दछ ।

 

सेतीपोखरी उपत्यकामा रहेको सेतीपोखरीबाट बग्ने हंगा नदी दुधकोशी नदीमा मिसिन आउछ । उक्त नदीले सोलुखुम्बु जिल्लाको तल्लो भेग खासगरी छेस्काम, बुङ, गुदेल, सोताङ, पावै, जुब, लोखिम, देउसा, नेले र सल्लेरीलाई सिञ्चित गर्दछ । उक्त खोलाको किनारै किनार एउटा पर्यटन पदमार्गको विकास गर्न सकिए त्यसले एकातिर हिमपात परेको बेला पर्यटनकर्मीहरुको लागि उद्वार मार्गको काम गर्दछ भने अर्कोतिर पर्यटकको आवतजावतले उक्त भेगका सबै जनताको आर्थिक विकासमा टेवा पुग्दछ । यसबाहेक यो पदमार्ग भएर छेस्कामको मुद्वी आईपुगेका पर्यटकहरु भोजपुरको साल्पा भञ्ज्याङ पास गरेर टुम्लिङटार वा खोटाङको लामिडाँडा हवाईमैदान पनि जान सक्नेछन् । यो पदमार्ग भएर सेतीपोखरीबाट छेस्काम आइपुगेका पर्यटकहरुको लागि गुदेलको लाम्पम्मा भन्ने ठाँउमा हवाईमैदान बनाउने प्रक्रिया अगाडि बढेकोले भविष्यमा गुदेलबाट सिधै काठमाडौं उडान भर्न सकिनेछ । यसबाहेक भोजपुरको कुलुङ, खोटाङको ऐसेलुखर्क हुदै लोखिमको देउराली र सोलुखुम्बुको बुडीडाँडासम्म सडकमार्ग जोड्ने क्रममा रहेको वर्तमान अवस्थामा यो पदमार्ग सडक मार्ग हुदै तल्लो सोलुखुम्बु आईपुगेका पर्यटकहरुको लागि अति आवश्यकता पनि भईसकेको छ ।

 

यही आवश्यकतालाई महशुस गरी विगत २ वर्ष पहिले स्थानीय गैरसरकारी संस्था पहाडी विकास तथा संरक्षण समूह नेपालको अगुवाइमा उक्त बाटोको सम्भाव्यता र लागत सर्वेक्षण भएको थियो । छेस्कामको मुद्धिसम्म पहिलेदेखि नै बाटो बनिसकेकोले त्यस ठाँउदेखि सेतीपोखरीसम्मको बाटो निर्माण गर्न झोलुङगे पुल निर्माणबाहेक ६८ लाख रुपैया लाग्ने जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुको प्रतिवेदनमा उल्लेख गरिएको छ । हालसम्म स्थानीयको पहलमा १८ लाख रुपैयाको लागतमा बाटो बनिसकेको छ भने जिल्ला प्राविधिक कार्यालयको प्रतिवेदनको आधारमा अब उक्त बाटो बनाउन थप ५० लाखको आवश्यकता रहेको छ । सरोकारवाला सरकारी तथा गैरसरकारी संस्थाहरुको ध्यान यो बाटो निर्माणतिर गए एकातिर सेतीपोखरी उपत्यकामा भरियाहरुको मृत्यु हुने क्रम रोकिने थियो र अर्कोतिर तल्लो सोलुले पनि पर्यटन विकासको केही रसहरु लिन पाउने थिए ।